Section 61
लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार
लेखापरीक्षण समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः– (क) बैंक वा वित्तीय संस्थाको लेखा, बजेट तथा आन्तरिक लेखापरीक्षण कार्यविधि, आन्तरिक नियन्त्रण व्यवस्था उपयुक्त भए नभएको र भएमा सोको पालना भए नभएको अनुगमन तथा सुपरिवेक्षण गर्ने, (ख) बैंक वा वित्तीय संस्थाको लेखा र बहीखाताको आन्तरिक लेखापरीक्षण गराउने र त्यस्ता कागजात प्रचलित कानून, राष्ट्र बैंकको नियमन तथा निर्देशन बमोजिम ठीकसँग तयार भए नभएको बारे यकीन गर्ने, (ग) बैंक वा वित्तीय संस्थामा लागू भएको प्रचलित कानून पूर्ण रुपमा पालना भएको छ भनी विश्वस्त हुन बैंक वा वित्तीय संस्थाको व्यवस्थापन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्य सम्पादनको परीक्षण गर्ने, गराउने, (घ) बैंक वा वित्तीय संस्थामा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, नीति वा दिइएको निर्देशन बमोजिम काम कारबाही भए नभएको अनुगमन गर्ने र सोको प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गर्ने, (ङ) बाह्य लेखापरिक्षकको नियुक्तिको लागि तीन जना लेखापरीक्षकको नाम सिफारिस गर्ने । (च) सञ्चालक समितिबाट माग गरिएको विषयमा राय दिने ।